काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत साउदीले बलियो टोली अर्जेन्टिनाविरुद्ध पुनरागमन जित निकालेको छ ।
खेलमा एक शून्य गोलले पछि परेको साउदीले अर्जेन्टिनाविरुद्ध २-१ गोलको जित निकालेको हो ।
साउदीको जितमा सलेह अल शेहरी र सलिम अल्दावसरीले गोल एक एक गोल गरे ।
यसअघि साउदी अरेबियाविरुद्ध अर्जेन्टिनाले पहिलो हाफमा अग्रता बनाएको थियो ।
अर्जेन्टिनाको लागि खेलको १०औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टी मार्फत गोल गरि सुरुवात दिलाएका हुन् ।
तर आक्रमक खेलेको अर्जेन्टिनाको तीन गोल अफसाइड भएको छ ।
खेलको २२औँ मिनेटमा मेस्सीले गोल गर्दै खुशियाली मनाए । तर अफसाइड भएसँगै त्यो गोलले मान्यता पाएन । खेलको २९औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरे । तर भिडियो एसिस्टेन्ट रेफ्रि भीएआर ले यो गोललाई पनि मान्यता दिएन । मार्टिनेजले अफसाइड गोल गरेका थिए ।
खेलको ३५औँ मिनेटमा मार्टिनेजले नै गोल गरे । तर यो गोल पनि अफसाइड भयो । योसँगै अर्जेन्टिनाले गरेको तीन गोल अफसाइड भएको छ ।
उक्त जितसँगै समूह सी को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ । यता पराजित अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।
यस्तै अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो । सन् १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिना क्यामरुनसँग पहिलो खेलमा पराजित भएको थियो ।



