काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा पोर्चुगलले उरुग्वेलाई हराउँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति कतारको लुजेल रंगशालामा भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हराएसँगै लगातार दोस्रो जित निकाल्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । यो जितसँगै पोर्चुगलले २०१८ रसिया विश्वकपमा २-१ गोलले हरेको बदला लिएको छ ।
पोचुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई गोल गरे । निकै रोमाञ्चक बनेको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
खेलको ५४औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई १-० को अग्रता दिलाए ।
यस्तै खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।
उक्त जितसँगै पोर्चुगलले दुई खेलबाट ६ अंक बनाएको छ । यता, पराजित उरुग्वेको भने दुई खेलबाट एक अंक छ । योसँगै पोर्चुगलले एक खेलअघि नै विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ ।



