काठमाडौँ । एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा पुगेका छन् ।
मंगलबार राति समुह बि अन्तर्गत इंग्ल्याण्ड र अमेरिकाले आ-आफ्नो खेल जितेर नकआउट चरणमा पुगेका हुन् ।
समुह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले वेल्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
इंग्ल्याण्डको जितमा मार्कस राशफोर्डले दुई गोल गरेका थिए भने फिल फोडेनले एक गोल गरेका थिए ।
उक्त जितसँगै इंग्ल्याण्ड समुहमा ३ खेलमा ७ अंकसहित समुह विजेता हुदै नकआउट चरणमा पुगेको छ । त्यस्तै यसै समुहको अर्को खेलमा अमेरिकाले इरानलाई १-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
अमेरिकाको जितका लागि क्रिस्टियन पुलिसिकले खेलको ३८औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
उक्त जितसँगै अमेरिकाको समुह बि मा ३ खेलमा ५ अंक भएको छ र समुहमा उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
समुह बि बाट इरानले ३ खेलमा ३ अंक हासिल गर्यो र वेल्सले ३ खेलमा केवल एक अंक हासिल गरेको छ । इरान र वेल्स समुह चरणबाटै बाहिरिएका छन् ।



