काठमाडौ । नामिबियामा जारी आइसिसी क्रिकेट विश्वकप लिग२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको छ ।
बिहिबार नामिबियास्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले अविजित ४६ रनको योगदान दिए । यस्तै जर्ज मुन्सेले ४५, कायल कोएट्जरले १६ र कप्तान रिची बेरिङटनले अविजित १२ रन जोडे ।
यता नेपालका लागि गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले खराब ब्याटिङ गर्दै ३५.३ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए ।
यस्तै सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललितनारायण राजवंशीले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन,मार्क वाट र सफ्यान शरिफले समान दुई तथा क्रिस्टोफर म्याकब्रिड, क्रिस ग्रेभेस र क्रिस सोलले समान एक विकेट लिए
उक्त हारसँगै नेपाल लिग २ मा २४ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । जित निकालेको स्कटल्यान्ड ३२ खेलबाट ४६ अंक जोड्दै शीर्ष स्थानमा छ ।
यो पराजयसँगै नेपाल शृंखलामा नेपाल जितविहिन बनेको छ । पहिलो खेलमा नामिबियासँगका खेल वर्षा बाधक बन्दा अंक बाँडेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ३ विकेट तथा तेस्रो खेलमा नामिबियालाई ८६ रनले नतिजा सुम्पिएको थियो ।



