कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा साविको उपविजेता क्रोएसिया ब्राजिललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलको खेलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । एजुकेसन सिटी स्टेडियममा ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
ब्राजिलका लागि खेलको १०६औं सुपर स्टार फरवार्ड नेयमारले गोल गरे भने यता क्रोएसियाको लागि खेलको ११६औं मिनेटमा ब्रुनो पेटकोभिकले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा फर्काएका थिए ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । यता ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।
उक्त जित सँगै क्रोएसियाले अब फाइनल प्रवेशको लागि नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचको विजेता सँग प्रतिस्पर्धा गर्नेछ ।



