काठमाडौं । एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनलको समीकरण पुरा भएको छ ।
विश्वकपको सेमिफाइनलमा क्रोसिया, अर्जेन्टिना, मोरक्को र फ्रान्स पुगेका छन् । ३२ देशको सहभागि रहेको विश्वकपमा समुह चरण, राउण्ड र क्वाटरफाइनल हुदै अब सेमिफाइनलका खेल हुने छन् ।
क्वाटरफाइनलमा क्रोसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेर सेमिफाइनलमा पुग्यो भने अर्जेन्टिनाले नेदरल्याण्डसलाई पनि पेनाल्टी सुटआउटमा नै पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको हो ।
त्यस्तै क्वाटरफाइनलको खेलमा मोरक्कोले बलियो टिम मानिएको पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक सेमिफाइनलमा पुगेको छ भने विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्सले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
अब सेमिफाइनलमा क्रोसियाको भिडन्त अर्जेन्टिनासँग हुने छ भने मोरक्कोको भिडन्त फ्रान्ससँग हुने छ ।
सेमिफाइनलका खेलहरु मंगलबार र बुधबार राति हुने छन् । पहिलो सेमिफाइनल खेल क्रोसिया र अर्जेन्टिनाबीच आगामी मंगलबार राति नेपाली समय अनुसार १२:४५ बजे हुने छ भने दोस्रो सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच बुधबार राति १२:४५ बजे हुने छ ।



