काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी२० लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको छ ।
काठमाडौंले दिएको २०९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सबै विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाए । सन्दीप जोरा २६ रन तथा पवन सराफ २४ रनमा आउट भए । शरफुदिन असरफले १९ तथा आदिल आलमले १६ रन बनाए भने जितेन्द्र मुखियाले १३ रनको योगदान गरेता पनि टोलीको हार टार्न सकेनन् ।
यता काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३ विकेट लिँदा बसिर अहमद २ तथा सुनाम गौतम, अनिल खरेल, अविनाश बोहोरा र कमल सिंह ऐरीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो ।
काठमाडौंका लागि ब्लेकले ४३ बलको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ७ छक्का प्रहार गरे ।
यस्तै विरनदिप सिंहले ४९ तथा अज्मतुल्ला उमरजाइले १५ बलमा ४३ रनको अविजित पारि खेले लोकेस बम १५ रनमा आउट भए ।
यता जनकपुरका लागि पवन सराफले २, सोमपाल कामी, शरफुदिन असरफ, आदिल आलम र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए ।
उक्त जितसँगै काठमाडौंको ३ खेलमा ४ अंक भएको छ । काठमाडौं अंक तालिकाको स्थानमा रहेको छ । यता पराजित जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको स्थानमा रहेको छ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।



