पोखरा । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७९ आजबाट पोखरा रंगशालामा सुरु हुँदै छ ।
मोफसलको महत्त्वपूर्ण खेलका रूपमा लिने गरिएको आहा रारा पोखरा गोल्डकपको यो संस्करणको पहिलो खेल बिहीबार दिउँसो दुई बजे हुँदै छ । १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्न लागेका छन् ।
उद्घाटन खेल दुई बजेबाट सुरु हुने भए पनि गोल्डकपको औपचारिक कार्यक्रम भने साढे १ बजे पोखरा रंगशालामा नै हुनेछ। उद्घाटन सत्रमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य सहभागी हुँदै छन् ।
पुस २३ गतेसम्म हुने प्रतियोगितामा सङ्कटा क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च बोइज युनाइटेड फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिका तथा विभागीय क्लबहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब पनि भिड्दै छन् ।
आजको उद्घाटन खेलबाट विजयी टोलीले पुस १६ गते सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यस्तै पुस १५ गते पुलिस क्लब र चर्च बोइजबीच प्रतिस्पर्धा हुनेछ । यो खेलबाट विजेता बन्ने टोलीले पुस १७ गते हुने खेलमा मच्छिन्द्र क्लबसँग खेल्नुपर्नेछ । यी ३ टोलीमध्येको एक टोली सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा अर्कोतर्फबाट मनाङ मर्स्याङ्दी वा भुटानिज युथसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
मनाङ मर्स्याङ्दी र भुटानिजबीचको खेल पुस १९ गते हुनेछ। यी दुईमध्येको एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । यो समूहबाट जाने टोलीको सेमिफाइनल खेल पुस २१ गतेका लागि राखिएको छ । फाइनल खेल पुस २३ गते गर्ने गरी ‘टाइसिट’ तयार पारिएको छ ।
यो पटकको संस्करणमा पुरस्कार राशिमा विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रूपैयाँ नगद वृद्धि गरिएको छ । विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ नगद प्राप्त गर्ने छन् ।
गत वर्षको खेलमा विभागीय टोली एपिएफ क्लब विजेता बन्दा मनाङ मर्स्याङ्दी क्लबले उपविजेतामा चित्त बुझाएको थियो ।



