काठमाडौं । स्पेनिस क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा काठमाडौं–११ लाई २–१ ले पराजित गरेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालमा बिहिबार भएको खेलमा कासेरेन्योलाई जित दिलाउन कप्तान अल्भारो क्लाउस र डेविड ग्रान्डेले समान एक गोल गर्दा काठमाडौंका लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काए ।
पहिलो हाफको खेलको ४०औं मिनेटमा क्लाउसीको गोलमार्फत स्पेनिस टोलीले अग्रता लिएको थियो । यस्तै ८४ औं मिनेटमा ग्रान्डेले कासेरेन्सो अग्रता दोब्बर बनाए ।
तर खेलको ८६औं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा कासेरेन्योले २–१ को रामोञ्चक जित निकाल्यो । काठमाडौंको कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले गरेका थिए ।
यसअघि कासेरेन्सोले बुधबार पोखरामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा रहेको गण्डकी–११ लाई ३–० ले हराएको थियो ।
जितसँगै दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको कोसेरेन्लेयो दुवै खेल आफ्नो पक्षमा पारेको छ ।
स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।



