काठमाडौं । पहिलो संस्करणको नेपाल टी२० लिग पुरुष क्रिकेटमा लुम्बिनी अल स्टारले लागातार पाँचौं जित निकालेको छ ।
शुक्रबार त्रिबि क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाइट्साई ३५ रनले पराजित गरेको हो ।
लुम्बिनीले जितका लागि १५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो तर काठमाडौं नाइट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो ।
काठमाडौंका लागि शीर्ष क्रममा तीन ब्याटरले खाता समेत खोल्न सकेनन् । अजमातुल्लाह उमरजाईले सर्वाधिक ३८ रन बनाए भने सुनाम गौतमले १८ रन बनाउँदा एलेक्स ब्लेकले ११ रन बनाए । कमलसिंह ऐरीले अविजित १९ रन बनाए ।
लुम्बिनीका लागि हरमित सिंहले ३ तथा किशोर महतो,श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान १/१ विकेट लिए ।
त्यसअघि त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटि सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रनको योग्दान दिए । उनले २७ बलमा उनले ३ चौका र एक छक्का प्रहार गरे । यस्तै लाहिरु मिलन्थाले २५ रन, कुशल भुर्तेल १९, अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ बनाए ।
यता काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ तथा अभिनाश बोहोरा,एलेक्स ब्लेक,सुनाम गौतम र अनिल खरेलले समान १ विकेट लिए ।
चार खेलमा अपराजित लुम्बिनी पाँचौ जित निकालेको हो । लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस्तै ४ खेलमा दुई जित र २ हार ब्यहोरेको काठमाडौं तेस्रो छ ।



