पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ मा विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाईटेड फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा पुलिसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरे ।
निकै रोमान्चक खेलमा सुरुवाती अग्रता पुलिसले बनाएको थियो । २५औं मिनेटमा रबी पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ७७औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिदा खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा अनन्तले गोल गर्दै चर्च ब्वाइजलाई २-१ को जित दिलाए ।
अन्जन र अनन्तले चर्च ब्वाइजका लागि डेब्यु खेलमै गोल गरेका हुन् । फरवार्ड अन्जन र डिफेन्डर अनन्तलाई चर्च ब्वाइजले हालै अनुबन्ध गरेको हो । यस्तै आहा रारामा चर्च ब्वाइजको समेत यो डेब्यु खेल हो ।
अब चर्च ब्वाइजले क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
यस पटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।
यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।



