पोखरा । २२औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत आजको भएको खेलमा साविको विजेता एपिएफ फुटबल क्लब विजयी भएको छ ।
पोखरा रंगशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २-० गोलले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपिएफको जितमा बिकु तामाङ र युवराज खड्काले समान एक एक गोल गरे । उक्त दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
पहिलो हाफको खेलको ३७औं मिनेटमा एपिएफका बिकुले गोल गरि सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै त्यसको ३ मिनेटपछि युवराजले गोल गरि पहिलो हाफमै एपिएफलाई २-० गोलको अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफमा थप कुनै टोलीबाट गोल नहुँदा एपिएफ २-० गोलले विजयी भयो । यो जितसँगै एपिएफले फाइनल प्रवेशको लागि त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब काठमाडौंबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।



