काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना इस्पान्योलसँग बराबरीमा रोकिएको छ ।
शनिबार राति बार्सिलोना घरेलु मैदानमा इस्पान्योलसँग १-१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका मार्कास अलन्सोले गोल गर्दा इस्पान्योलका जोसेलुले बराबरी गोल फर्काए ।
खेलको सातौं मिनेटमा अलन्सोको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई बार्सिलोनाले दोस्रो हाफमा जोगाउन सकेन । ७३औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । अलन्सोले पेनाल्टी बक्समा जोसेलुलाई फउल गरेपछि रेफ्रीले इस्पान्योललाई पेनाल्टी प्रदान गर्दा उनी चुकेनन् ।
त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । ७८औं मिनेटमा जोर्डी अल्बा दोहोरो पहेलो कार्ड खाँद मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । त्यसको दुई मिनेटपछि नै भिनिसियस डि सोउजा कोस्टा पनि दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इस्पान्योल पनि १० खेलाडीमा समेटिन पुग्यो ।
उक्त बराबरीसँगै बार्सिलोना १५ खेलबाट ३८ अंक जोडेर पुनः शीर्षस्थानमा उक्लिएको छ । समान ३८ अंक नै रहेपनि रियल म्याड्रिड गोल अन्तरमा पछि छ । यता इस्पान्योल १३ अंक जोडेर १६औं स्थानमा छ ।



