काठमाडौं । २२औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेल ए डिभिजन लिग च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबलाई हराउँदै बि डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको खेलमा चर्च ब्वाइजले मछिन्द्रमाथि ३-१ गोलको सहज जित निकालेको हो ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईंले २ र आशिष चौधरीले १ गोल गरे । यता मछिन्द्रको लागि सौरभ सुब्बाले एक सान्त्वना गोर फर्काए ।
पहिलो हाफमा २-० गोलको अग्रता बनाएको चर्चले दोस्रो हाफमा थप १ गोल गर्दा अर्को १ गोल ब्यहोरेको थियो ।
तुलनात्मक रुपमा बलियो टोली मछिन्द्रलाई दबाब दिएको चर्चले सहज जित निकालेको हो ।
उक्त जितसँगै पहिलोपटक सहभागी जनाएको चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । चर्चले अब फाइनल प्रवेशको लागि मनाङ मर्स्याङदी र भुटनिज युथ स्पोर्ट्स क्लब युएसएबचीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
यस पटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।
यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।



