काठमाडौं । पहिलो संस्करणको नेपाल टी२० लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई ६ विकेटले पराजित गरेको छ ।
त्रिबि मैदान किर्तिपुरमा फार वेस्टले दिएको १५७ रनको लक्ष्य विराटनगरले १९।३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरका लागि रोहित पौडेलले ४२ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । प्रदिप ऐरी ४० रनमा आउट हुँदा हुसेन तलतले १७ रन बनाए । पृथु बास्कोटा १७ रनमा अविजित रहँदा गौरान्शु शर्माले ११ रन बनाए ।
फार वेस्टका लागि नुर अहमद,प्रकाश जैशी,करण केसी र हसमतुल्लाह साहिदीले समान १ विकेट लिए ।
त्यसअघि ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनायो ।
फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाए । करन केसीले अविजित २१ रन बनाउँदा उमर अलिले १६ रन बनाए ।
विराटनगरका लागि साहाब आलमले ३ तथा कियोन जोसेफले २ विकेट लिए । राज नानन,विवेक यादव र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट आफ्नो नाममा गरे ।
आठ खेलमा तीन जित पाँच हार सहित विराटनगर ६ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ।
सात खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । हारसँगै फार वेस्टको प्लेअफ सम्भावना कमजोर बनेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।



