कप्तान रोहित पौडेलको ६६ रनको अर्धशतकीय ईनिङ खेले पछि काठमाडौं नाईट्सलाई पराजित गरि विराटनगर सुपर किंग्स प्लेअफ प्रवेश गरेको छ ।
प्लेअफ प्रवेश गर्ने तेस्रो टोली बन्ने क्रममा विराटनगरले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो ।
टियु मैदानमा भएको खेलमा काठमाडौंले दिएको १५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरका लागि कप्तान रोहित कुमार पौडेलले ४२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६६ रनको अर्धशतकी ईनिङ खेले । गौरान्शु शर्माले ४९ बलमा ४ चौका सहयोगमा अविजित ५१ रनको अर्धशतकीय ईनिङ खेले । हुसेन तलत २१ रनमा आउट भए ।
काठमाडौंका लागि भने अबिनाश बोहोराले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।



