काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिगमा काठमाडौं नाईट्स प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।
शनिबार फार वेस्ट युनाईटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले पराजित गरेसँगै अंक तालिकाको चौंथो स्थानमा रहदै काठमाडौं प्लेअफमा पुगेको हो ।
त्रिबि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १४६ रन मात्र बनायो ।
पोखराका लागि कप्तान उपुल थरंगाले २३ बलमा ३६ रन बनाउँदा प्रतिश जिशीले ११ बलमा ५ छक्काको सहयोगमा ३४ रन बनाए ।
फार वेस्टका लागि दुर्गेश गुप्ता र कप्तान हशमतुल्लाह शाहिदीले समान २ तथा करण केसी र प्रकाश जैशीले समान १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ५ विकेट गुमाएर १८८ रन बनायो ।
फार वेस्टका लागि पहिलो विकेटका लागि कप्तान शाहिदी र विनोद भण्डारीले १३४ रनको शतकीय साझेदारी गरे । यो प्रतियोगितामा उनीहरुको यो दोस्रो शतकीय साझेदारी हो ।
शाहिदीले ५१ बलमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । उनको यो प्रतियोगितामा चौथो अर्धशतक हो ।
भण्डारीले ४७ बलमा ५९ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । राशिद खानले ४ बलमा १४ रन बनाउँदा करण केसी ११ रनमा अविजित रहे ।
पोखराका लागि अभिमन्यु मिथुनले २ तथा प्रतिश जिशीले १ विकेट लिएका थिए ।
प्रतियोगिताबाट बाहिरिसकेको फार वेस्ट अन्तिम खेलमा जितका साथ प्रतियोगिता समापन गरेको छ । हारसँगै पोखरा पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
लुम्बिनी अल स्टार, जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले भने यस अघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।



