पोखरा । २२औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को फाइनल खेलमा अमेरिकीन क्लब भुटनीज युथलाई हराउँदै उपाधि विजेता संकटा क्लबले ब्यक्तिगत विधातर्फ पनि बर्चश्व जमाएको छ ।
संकटा कप्तान सुनिल बल सर्वोत्कृष्ट खेलाडी चुनिए । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा संकटालाई उपाधि दिलाउन निर्णायक गोल गरेका सुनिल सर्वोत्कृष्ट चुनिएका हुन् ।
फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लबलाई अतिरिक्त समयमा ३-२ ले हराउँदै संकटा दोस्रपटक विजेता बनेको थियो ।
सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । उनलाई टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले स्कुटरको साचो हस्तान्तरण गरेका थिए ।
यसैगरी यस प्रतियोगितामा संकटाका गोलक्षक टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर घोषित भए । यता उपविजेता भुटनीजका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षक घोषित भए भने संकटका आयुष घलान उत्कृष्ट मिडफिल्डर, संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए ।
संकटाका मेसुके ओलेमोउ सर्वाधिक गोलकर्ता चुनिए । उनले प्रतियोगिता भर चार गोल गरेका थिए । या प्रतियोगिताको क्वाटरफाइनल सम्मको यात्रा तय गरेको धरान फुटबल फेयर प्ले अवार्ड प्राप्त ग¥यो।
विधागततर्फ उत्कृष्ट हुने तथा सर्वाधिक गोलकर्ताले समान २५ हजार रुपैयाँ प्राप्त गरे । धरानले १० हजार रुपैँया प्राप्त गरेको आयोजक साहा क्लबले जनाएको छ ।
यस प्रतियोगितामा १ बिदेशी टोली, दुई मोफसल टोली र ७ शीर्ष डिभिजनका क्लब गरि कुल १० टोलीको सहभागिता रहेको थियो ।
जसमा साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।



