काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित निकालेको छ ।
बुधबार जनता क्रिकेट पार्क क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बागमतीले गण्डकी प्रदेशलाई ३७ रनले हराएको हो ।
बागमतीले दिएको १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।
गण्डकीका लागि सिमाना केसीले अविजित ३६ रन जोडिन । कप्तान श्रीष्टि जैसीले ३४ रन बनाईन् ।
यता बागमती प्रदेशका अश्मिना कर्माचार्यले ३ तथा बिपिसा शाही र साबिका यादवले १ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ५ विकेट गुमाएर १३५ रन जोडेको थियो ।
बागमतीका लागि कन्चन श्रेष्ठले ५६ रनको अर्धशतकीय इनिङ खेलिन् । त्यस्तै कप्तान अश्मिना कर्माचार्यले १८ रन जोड्दा सोनी पाख्रिनले १३ रन बनाईन् ।
गण्डकीका कुसुम गोदार, श्रृष्टि जैसी, निरुता जिटी र सिमाना केसीले १ विकेट लिए ।
उक्त जितसँगै समूह ए को बागमतीले ३ खेलमा २ अंक जोड्यो । बागमती सान्त्वना जितसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।गण्डकी जित विहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।



