काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार जनता क्रिकेट पार्क क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश-१ उपाधि नजिक पुगेको हो ।
अब प्रदेश-१ ले उपाधिका लागि सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश-१ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
प्रदेश(१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडिन । अप्सरी बेगम ९ रनमा अविजित रहिन् । काजल श्रेष्ठ ९ र लकिता राजवंशी १ रनमा आउट भईन् । एपीएफका नेरी थापाले १ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १३ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन जोडेको थियो ।
एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक १० रन जोडिन् ।
एपीएफलाई सस्तैमा समेट्न प्रदेश-१ की संगीता राई र एलिशा खडियाले ३र३ विकेट लिईन् । सबनम राईले २ विकेट हात पारिन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।



