काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ को खेल तालिका सार्वजनिक भएको छ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।
नयाँ सिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन् । रंगशालामा हुने उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
यस पटक चर्च ब्वाइज युनाईटेड फुटबल क्लब र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ ।
साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
यस्तै मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । फेयर प्ले अवार्ड विजेताले ३ लाख पाउने छन् ।



