काठमाडौँ । इटालीको फुटबल फेडेरेसनले युभेन्टसलाई कारवाही गर्दै १५ अंक घटाइदिएको छ ।
खेलाडीको पारिश्रमिक बारे सहि हिसाब नराखेको भन्दै फेडेरेसनले युभेन्टसलाई कारवाही गरेको हो ।
फेडेरेसनले युभेन्टसले आफ्ना खेलाडीको पारिश्रमिक, ट्रान्सफर शुल्कबाट मिलियन डलर लुकाएको निष्कर्ष निकालेको थियो ।
अनुसन्धानमा युभेन्टसले गरेका ६२ खेलाडी ट्रान्सफरको छानबिनमा ४२ ट्रान्सफरमा हिनामिना गरेको आरोप लगाइएको छ ।
युभेन्टसले यस घटनाबाट २०२० मा मात्र ९७ मिलियन डलर बचाएको फेडेरेसनले उल्लेख गरेको छ ।
साथै फेडेरेसनले युभेन्टसका पूर्व अध्यक्ष आन्द्रे एंगनेली र उपाध्यक्ष पाभेल नेडभेडलाई दुई बर्षका लागि फुटबल प्रशासनमा फर्किन प्रतिबन्ध लगाएको छ । युभेन्टसका तत्कालिन निर्देशक फाबिओ पाराटिसीलाई ३० महिनाको प्रतिबन्ध लगाएको छ ।
यता युभेन्टसले भने फेडेरेसनको निर्णय अपिल गर्ने निर्णय गरेको छ । युभेन्टसले आफूमाथि गरिएको करावाही गलत भएको जनाउदै इटालियन ओलम्पिक कमिटीमा अपिल गर्ने स्काई स्पोर्ट्सले उल्लेख गरेको छ ।
युभेन्टसको जारी लिगमा १८ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेकोमा अब १५ अंक घटेसँगै २२ अंकसहित १०औं स्थानमा झरेको छ ।



