काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
सोमबार राति भएको छैटौं श्रेणीको पाएस डी कासेललाई ७-० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे ।
उनले खेलको २९औं, ३४औं, ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि एमबाप्पेले ५६औं र ७९औं मिनेटमा थप २ गोल गरेका थिए ।
यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् । एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
यस्तै पीएसजीको जितमा नेयमारले ३३औं र कार्लोस सोलेरले ६४औं मिनेटमा गोल गरेका थिए ।



