काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले न्यूजिल्याण्डलाई ९० रनले पराजित गरेसँगै भारतीय टोलीले सिरिजमा ३-० ले क्लिन स्वीप गरेको छ ।
भारतले एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डलाई तेस्रो पटक क्लिन स्विप गरेको हो । भारतले सन् १९८८ र २०१० मा पनि न्युजिल्याण्डविरुद्ध यस्तै नतिजा निकालेको थियो ।
भारतले लगातार सातौं एकदिवसीय खेल पनि जितेको छ ।
इन्दौरको होल्कर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३८५ रन बनाएको थियो । शुभमन गिलले ७८ बलमा ११२ रन बनाए भने रोहित शर्माले ८५ बलमा १०१ रन बनाए ।
यी दुई बाहेक हार्दिक पाण्ड्याले ३८ बलमा ५४ रन बनाए । विराट कोहलीले ३६ रन जोडे । न्युजिल्याण्डका ज्याकब डफी र ब्लेयर टिकनरले ३/३ विकेट लिए ।
जवाफमा न्यूजिल्याण्डको टोली ४१.२ ओभरमा २९५ रनमा अलआउट भयो ।
न्युजिल्याण्डका लागि ड्वेन कोनवे १३८ रनले शतक खेले पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । कोनवेका अलावा हेनरी निकोल्सले ४२ र माइकल ब्रेसवेलले २६ रन बनाए ।
भारतका शार्दुल ठाकुर र कुलदीप यादवले ३/३ विकेट लिए ।युजभेन्द्र चहलले २ सफलता हात पारे । हार्दिक पाण्ड्या र उमरान मलिकले १/१ विकेट लिए ।



