सरस्वती पूजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो । यसैबीच भर्खरै नयाँ स्वरुप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’मा बुधबार ठीक ७ बज्दा चिरपरिचित घडी देखिन सुरु भयो । त्यसको आधा घन्टामै यो वर्ष अष्ट्रेलिया यात्राकै पहिलो नेपथ्य आवाज गुञ्जिन सुरु भयो ।
दर्शक दीर्घा डार्बिनमा पढ्न वा बसोबासका निम्ति आइपुगेका नेपालीहरुको मिश्रित भीँडले भरिएको थियो। कन्सर्टको सुरुवात नेपथ्यको ताजा सिर्जना ‘भटभटे’बाट भयो ।
गीत चलिरहँदा काठमाडौंको अस्तब्यस्त सडकमा छायांकन गरिएको त्यसको म्यूजिक भिडियो पछाडि पर्दामा देखाइएको थियो। त्यसले हाल डार्बिनमा बस्दैआएका थुप्रै काठमाडौका पुराना वासिन्दालाई घरको सम्झनाले घच्घच्याएको देखिन्थ्यो ।
त्यसपछि ब्याण्डको प्रारम्भिक दिनदेखिकै चर्चित गीत ‘छेक्यो छेक्यो’ सुनाइएको थियो । यसअघि सन् २०१९ मा नेपथ्यले यसैगरि अष्ट्रेलियाको टुर गरिरहँदा उक्त गीतका सर्जक शुक गुरुङको नेपालमा देहावसान भएको थियो ।
परदेशमा यो सुनेर दुःखी भएको ब्याण्डले लगत्तैको मेलबर्न कन्सर्टमा स्टेजबाटै गुरुङप्रति श्रद्धान्जली अर्पण गरेको थियो । यसपटक डार्बिनमा कन्सर्ट आयोजना हुनुभन्दा ठीक एकदिन अघि चार वर्ष अघिको त्यहि भिडियो रेकर्डलाई ब्याण्डले आफ्नो आधिकारिक यु ट्युब च्यानलबाट रिलिज गरेको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’ गीतसँगै हल भित्र हिउँको वर्षा हुनथालेपछि तातो डार्बिनका वासिन्दाहरु रमाउँदै नाच्न सुरुगरेको देखिन्थ्यो ।
‘तपाइँहरुलाई यहाँ देख्दा मलाइ गाउँमै पुगेको भान पर्दैछ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘अब म तपाइहरुलाई हाम्रो उतै गाउँको रोदीघरतिर लैजान्छु ।’ त्यसपछि ‘लामपाते सुरती’ गाइरहँदा दर्शकहरु गाउँकै सम्झनाले भावुक बनेर रमाएका देखिन्थे ।
‘जोमसोमे बजार’ र ‘शिरफूल शिरैमा’ जस्ता गीतहरु गाउँदा पछाडि दृश्यमा पहाडी अनि हिमाली भेगका यात्राको क्रममा खिचिएका दृश्य देखाइएको थियो। त्यसले दर्शकलाई पनि जोमसोम र धौलागिरितिरै पुर्याएको थियो ।
‘हाम्रा सुन्दर डाँडाकाँडाहरु पैदल घुम्ने अवसर पाएकोमा म आफुलाई भाग्यमानी ठान्छु,’अमृतले भने, ‘अर्को पटक तपाइहरु पनि नेपाल पुग्दा त्यसैगरि गाउँ ठाउँ पुग्ने अवसर नगुमाउनु होला ।’
भर्खरै नेपालमा ‘मानवताको लागि संगीत’ नारा बोकेर सिंगो मुलुक भ्रमण गरेको नेपथ्यले यो वर्ष पुरै त्यसै नाराका साथ आफूलाई अघि बढाउने संकल्प लिएको छ । संगीतका माध्यमबाट मानवताको प्रवद्र्धन हुनसकोस् भन्ने भावनाले यसो गरिएको हो ।
यसअघि नेपाल छाड्ने बेलामा ब्याण्डलाई अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले शुभकामना सन्देश पठाएकी थिइन् । त्यसैगरि अष्ट्रेलियामा ओर्लनेबित्तिकै राजधानी क्यानबेराबाट नेपालका राजदूत कैलाश पोखरेलले शुभकामनाका साथ स्वागतका सन्देश सम्प्रेषण गरेका थिए । यो यात्रामा कलाकार, प्राविधिक र व्यवस्थापक गरेर १३ सदस्यीय टोली सरिक छ ।
एडिलेडपछि ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’, क्यानबेराको ‘म्येनिंग क्लार्क हल, पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’हुँदै अन्तिममा ब्याण्डको यात्रा अष्ट्रेलियाकै पुछारतर्फको हुनेछ । बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुति नेपथ्यले दिनेछ ।


