काठमाडौं । म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित रिडीङलाई ३-१ गोल अन्तरले हराउँदै युनाइटेड पाँचौँ चरणमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरोले २ गोल गरे । त्यस्तै फ्रेडले १ गोल गरे । यता रिडीङका लागि अमाडउ बेनग्यूले १ गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा कासिमिरोले खेलको ५४औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ५८औँ मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको ६५ औँ मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटियो ।
फ्रेडले खेलको ६६ औँ मिनेटमा गोल गर्दै टिमलाई ३-० गोलको अग्रता दिलाए । यता रिडीङका लागि खेलको ७२औँ मिनेटमा अमाडोउ सालिफले एक गोल फर्काए पनि युनाइटेडले ३-१ गोलको जित निकाल्यो ।



