काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालसँगै, स्कटल्यान्ड र नामिबियाबीचको त्रिदेशीय क्रिकेट सिरिजका लागि दोस्रो चरणको क्यानले सन्दीप लामिछानेसहित २० खेलाडीलाई छनोट गरेको छ ।
क्यानले बिहीबार बलात्कार आरोपमा मुद्दा खेपिरहेका पूर्वकप्तान सन्दीपसहित २० खेलाडीलाई दोस्रो चरणमा छनोट गरेको र आजै टिममा समेटेको हो ।
त्रिदेशीय क्रिकेट सिरिज आगामी फागुन २ देखि त्रिवि क्रिकेट मैदानमा हुँदैछ । यही सिरिजका लागि सन्दीपलाई खेलाउने तयारीसहित टिममा पारेको हो । सन्दीपसहित टिममा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी छन् । त्यस्तै, ललितनारायण राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद छन् ।
यसअघि पहिलो चरणमा परेका शरद भेषावकर, विनोद भण्डारी, सागर ढकाल, सिद्धान्त लोहनी, अविनाश बोहरा, विवेक यादव, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी भने बाहिरिएका छन् ।
क्यानले माघ १७ गते सन्दीपलाई निलम्बन फुकुवा गरेको थियो । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई भदौ २३ गते निलम्बन गरेको थियो ।
सन्दीपलाई पुष २९ मा पाटन उच्च अदालतले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गरेको थियो ।




