काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासर अल फातेहसँग बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको ९३औं मिनेटमा अल फातेहविरुद्ध पेनाल्टी मार्फत गोल गर्दै अल नासरलाई हारबाट जोगाएका छन् ।
रोनाल्डोको साउदी लिगमा अल नासरका लागि डेब्यू गोल गरेका हुन् । २-१ ले पछि परेको अल नासरले रोनाल्डोको गोलमा बराबरीमा चित्त बुझाएको थियो ।
यस खेलको १२औ मिनेटमा क्रिस्तियन टेल्लोले गोल गर्दै फातेहलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि टालिस्काले गोल गर्दै अल नासरलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा सोफियाने बेनडेब्काले गोल गर्दै फातेहलाई २-१ को अग्रता दिलाएका थिए ।
यस्तै खेलको ९५औं मिनेटमा टालिस्काले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो । उक्त बराबरीसँगै अल नासर लिगमा शीर्ष स्थानमा रहेको छ । अल नासरको १५ खेलमा ३४ अंक रहेको छ । त्यस्तै अल फातेहको १५ खेलमा २२ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।



