शुक्रबार, भाद्र २६ गते २०८३
images

आज प्रणय दिवस, कसरी मनाउन थालियो भ्यालेन्टाइन्स डे ?

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 294
    SHARES
  • आज प्रणय दिवस, कसरी मनाउन थालियो भ्यालेन्टाइन्स डे ?

    भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । हरेक वर्ष १४ फेब्रुअरीलाई प्रणय दिवसका रूपमा मनाउने गरिन्छ । पश्चिमा देशमा प्रचलित रहेको प्रणय दिवस पछिल्ला केही दशकदेखि नेपालमा पनि मनाउन थालिएको छ ।

    images

    इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यालेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । भ्यालेन्टाइन्स डेका दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने प्रचलन छ । प्रेम अभिव्यक्त गर्न गुलाबको फूल प्रयोग हुने भएकाले आजको दिनमा फूलको कारोबार बढी हुने गर्छ ।

    यसरी मनाउन थालियो भ्यालेन्टाइन्स डे
    अहिले विश्वभर युवा युवतीले विशेष महत्त्वका साथ मनाउने भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचीन रोमबाट भएको हो ।

    images

    मध्य युगमा इङ्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।

    यस्तै, प्राचीन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किंवदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवसको सुरुवात भएको हो ।

    विशेष गरी भ्यालेन्टाइन्स डे को औपचारिक सुरुवात इस्वी संवत् २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दु:खान्त प्रेमकथा जोडिएको छ ।

    तत्कालीन रोमन सम्राट क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

    जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात् जेरकी छोरीलाई दिएको कथन छ ।

    उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको हो । 

    भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको २ सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रूपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इङ्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लो समय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।