काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डले नेपाललाई २७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७४ रन बनायो । उसका लागि माइकल लिस्कले शतकीय पारि खेले । उनले ७९ बलमा १०० रन पूरा गरेका हुन । ९ छक्का र ३ चौकाको सहयोगमा आक्रमक ब्याटिङ गरेका उनि ८५ बलमा १०७ रनमा नटआउट रह्य । उनले एकदिवसीय अन्तर्राष्टिय क्रिकेटमा पहिलो शतक समेत प्रहार गरेका छन् । यस्तै ज्यकले २६ रन, टमस म्याकिन्टोस र कप्तान रिचर्ड बेरिंगटनले समान १९ रन बनाए ।
ब्रान्डन म्याकमुलेन र क्रिस्टोफर एम म्याकब्राइडले समान २२ रनको योगदान दिए भने मार्क वाटिले २० रनमा रन आउट भए ।
यता नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने कुशल मल्ले २ विकेट हात पारे । कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समन १ विकेट लिए ।
पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी लक्ष्य पछ्याएको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्ड पनि नामिबियाविरुद्ध हात पारेको पहिलो जितलाई निरन्तरता दिन चाहन्छ ।



