काठमाडौं । आजबाट सुरु भएको कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।
सातदोबाटोको जितमा दीपक राज सिंह ठकुरीले दुई गोल गरे । पुलिसका प्रविन थापाले एक गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा दिपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४९ औं मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा दिपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।
अब सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ । आर्मी र एनआरटीबीचको खेल भोलि शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । यस्तै भोलि नै मछिन्दले चर्च ब्वाइजको सामना गर्नेछ ।



