काठमाडौं । यूएईमा जारी आइसिसी विश्वकप लिग२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी)ले घरेलु टोली युएईलाई ५ विकेटले पराजित गरेको छ।
युएईले दिएको ९८ रनको लक्ष्य पिएनजीले २६.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
पिएनजीका लागि ओपनर टोनी उराले ६३ बल खेलेर नटआउट ३५ रन जोडे। सेसे बाउ १८ रन र हिरी हिरीले १४ रन जोड्दा अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा युएईका रोहान मुस्ताफाले २ विकेट लिए।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएई २६.२ ओभरमा ९७ रनमा अलआउट भएको हो।
युएईका लागि वृत्य अरविन्दले सबैभन्दा बढी २६ रन जोडे। युएईका पुछारका सात ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
युएईको ब्याटिङ ध्वस्त पार्ने क्रममा पिएनजीका रिले हेकुरेले ५ विकेट लिए। उनले ४.२ ओभरमा १ मेडन राख्दा १३ रन खर्चिए। चाड सोपरले ३ केट लिँदा चार्ल्स अमिनीले १ विकेट लिन सफल भए।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले दुबईमा नेपाल, पिएनजी र युएईबीच त्रिकोणात्मक एकदिवसीय सिरिज भइरहेको छ।
सिरिजको अन्तिम खेलमा नेपालले सोमबार युएईसँग खेल्नेछ। यसअघिका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गर्दा युएईविरुद्धको पहिलो खेलमा भने हार बेहोरेको थियो।
यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ।



