काठमाडौं । 'स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकद' भन्ने मूल नाराका साथ खेलकूदका माध्यमबाट पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले गत २०७४ सालदेखि निरन्तर रुपमा संञ्चालन हुँदै आएको 'जितबहादुर खड्का स्मृति पाँचपोखरी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
यस सिजनको प्रतियोगिता फागुन २७ गतेदेखि चैत ३ गतेसम्म पाँचौ संस्करणका रुपमा पाँचपोखरी टि२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता-२०७२ आयोजना हुँदैछ ।
गत चौथो संस्करणको प्रतियोगिता मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा २०७८ फागुन १५ गतेदेखि २२ गतेसमम सम्पन्न भएको थियो ।
विगतका ३ प्रतियोगिताहरु पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नै सञ्चालन गरिएकोमा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाको खेलमैदानमा खेलको अनुभव लिन समेत मद्दत पुग्ने उद्देश्यले गत वर्षदेखि यस प्रतियोगिता काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजना गरिएको र यस वर्षको प्रतियोगिता पनि सोही रङ्गशालामा सञ्चालन गर्ने तयारीमा जुटेको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधानलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा बिजेता र उपविजेता हुने टिमले क्रमशः रु ८०,०००/- र ५०,०००/- नगद, ट्रफी, प्रमाणपत्र, मेडलका साथै प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (GHCA) ले उक्त प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याट्स्म्यानलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ ।



