काठमाडौं । राजधानीमा जारी आईसिसी विश्वकप लिग २ क्रिकेट अन्तर्ग आज घरेलु टोली नेपालले पाहुना टोली युएईको समना गर्दैछ ।
जसमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेपछि युएईले पहिला बलिङ गर्ने भएको छ ।
आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । नेपालले ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ ।
नेपाली टिममा आज गुलशन झा र ललित राजबंशीलाई समावेश गरिएको छ ।
यस सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो भने युएई पीएनजीसँग पराजित भएको छ ।
नेपाल हाल आइसीसी विश्वकप लिग-२ मा ३३ खेलबाट ३४ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३४ खेलमा ११ अंकसहित पुछारमा रहेको छ ।
शुक्रबार सम्पन्न खेलमा पीएनजीसँग पराजित भएसँगै युएईको अब शिर्ष तीनमा रहेर विश्वकप छनौटमा पर्ने सम्भावना समाप्त भएको छ । अब युएईको प्रयास बाँकी खेल जितेर अंक तालिकामा शिर्ष पाँचमा रहदै आफ्नो एकदिवसीय मान्यता जोगाउनेमा हुने छ ।
त्यस्तै नेपालले भने अब आफ्ना बाँकी तीन खेल जितेमा शिर्ष तीनमा रहेर विश्वकप छनौट खेल्ने सम्भावना कायम रहेको छ । त्यस्तै एकदिवसीय मान्यता जोगाउनको लागि भने नेपालले एक जित पर्याप्त हुने छ ।
लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् ।
आजको नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, गुलशन झा, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।



