काठमाडौं । नेपाली क्रिकेटको लागि बिहिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदान बिशेष बन्यो ।
हजारौं दर्शकका बीचमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै थियो ।
खेल बिहान साढे ९ बजेबाट सुरु हुने खेल तालिका थियो । हजारौं दर्शक बिहान ६ बजेदेखि नेपालको ऐतिहासीक खेल हेर्न बाजागाजा तथा विभिन्न ब्यानरसहित दर्शकदीर्घा प्रवेशका लागि लामबद्ध भएका थिए । दर्शकको चाहना थियो बिहिबारको खेलमा युएईलाई हराउँदै नेपाल जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा पुगोस् ।

खेल सुरुहुनु भन्दा एक घण्टा अघि टस भयो । युएईले टस जितेर पहिले ब्याटिङको निर्णय लियो र नेपाललाई पहिले बलिङ गर्ने निम्तो दियो । जब नेपालको खेल सुरु भयो खेलमा नेपालले टस हरेर पहिले बलिङ गर्ने पक्का भइसकेको थियो । नेपालको सुरुवाती-११ मा रहेका सबै खेलाडी मैदान प्रवेश गरे ।
युएईका ओपनर आर्यान लाक्रा ६ रनमा आउट भए । एक ओपनर आउट भए पनि अर्का ओपनर तथा कप्तान मुहम्मद वासिमले दोस्रो विकेटका लागि वृत्य अरबिन्दसँग मिलेर ८९ रनको साझेदारी गरे । टोली बलियो स्थितितर्फ जादै गर्दा वासिम ६३ रनको ईनिङ खेलेर आउट भए ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका वृत्य अरबिन्दले अन्तिम बलमा आउट हुनुअघि ९४ रन जोडेका थिए । युएईका लागि सातौं नम्बरमा ब्याटिङ गरेका आसिफ खानले आक्रामक शतक पूरा गरे । उनले ४२ बलमा अविजित १ सय १ जोडेका खानले ११ छक्का र ४ चौका प्रहार गरेका थिए ।
युएईले अन्तिम ७ ओभरमा १ सय १४ रन जोडेको थियो ।
नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

अघिल्ला खेलमा किफायती बलिङ गर्ने गरेका सन्दीप बिहीबारको खेलमा भने महँगो सावित भए । एकदिवसीय अन्तर्राष्ट्रियमा नै आफ्नो खराब बलिङ गरेका सन्दीपले १० ओभरमा ८० रन खर्चिएर १ विकेट लिएका थिए । सन्दीपलाई ४९ ओभरमा युएईका आसिफले लगातार चार छक्का प्रहार गरेका थिए ।
नेपालले सुरुवातमा खराब बलिङ गरेको थियो मध्य क्रममा पुन रन रोक्न सफल भयो । तर, अन्तिम १० ओभरमा नेपाल निकै महंगो सवित बन्यो ।
नेपालको लागि युएईले दिएको ३ सय ११ रनको चुनौती भेटाउनु कठिन थियो तर असम्भव भने थिएन ।
हजारौं दर्शक उर्लिएको कीर्तिपुर मैदानमा नेपालले उत्कृष्ट खेल देखायो । नेपालले सुरुवातमै दबाब झेलेको थियो । तर, चार ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा नेपाल लयमा फर्कियो । नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा नै पहिलो पटक एकै खेलमा चार अर्धशतक बन्यो । नेपालका लागि गुलशन झा, कुशल भुर्तेल, भीम सार्की र आरिफ शेखले अर्धशतक पूरा गरे ।

नेपालले आफ्नो ब्याटिङ ईनिङको सुरुवाती तेस्रो बलमा नै ओपनर आसिफ शेखलाई शून्यमा गुमाएको थियो । तेस्रो ओभरमा कुशल मल्ल ५ रनमै गुमाउँदा नेपाल सुरूमै केही दबाबमा परेको थियो ।
त्यसपछि कप्तान रोहित कुमार पौडेल १६ रन जोडेर आउट भए । रोहित सातौं ओभरको पाँचौ बलमा आउट हुँदा नेपालले तेस्रो विकेट गुमाउँदा ३७ रन जोडेको थियो ।
त्यसपछि ओपनर कुशल भुर्तेल र भीम सार्कीले नेपालको इनिङ उकासे । कुशल ५० रन जोडेर आउट भए । उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कुशलले भीमसँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गर्दै नेपालको स्कोरमा ९८ रन पुर्याए ।
कुशल आउट भएपछि भीमले आरिफ शेखसँग अर्को उत्कृष्ट साझेदारी गरे । भीमले आउट हुनुअघि ६७ रन जोडेका थिए । उनले ७६ बलमा ९ चौका हिर्काए । उनले पाँचौ विकेटका लागि आरिफसँग ८३ रनको साझेदारी गर्दै नेपालको स्कोर बोडमा १८१ रन हुँदा आसा पलाएको थियो । भीम ३१ ओभरको अन्तिम बलमा आउट भएका थिए ।
आरिफ शेखले पनि अर्धशतक बनाएपछि नेपालले विस्तारै खेल आफ्नो पक्षमा परेको थियो । आरिफले जुनेद सिद्धिकिको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि ५२ रन जोडे । आरिफले ६२ बलमा २ चौका प्रहार गरे ।
खराब प्रकाश रहेको त्रिवि मैदानमा नेपालले ४४ ओभरमा ६ विकेट गुमेर २ सय ७९ रन थियो । जुन डिएल मेथडमा नेपाल जितको लागि ९ रन बढि थियो । र डीएल पद्दतीमा गएर खेल नेपालले ९ रनले जित्यो ।
एकदिवसीय अन्तर्राष्ट्रियको ईतिहासमा नेपालले डीएल पद्दतीबाट जितेको समेत पहिलो खेल हो ।

यस्तो बन्यो लिग-२ को अन्तिम समिकरण
१ सय ४० खेल चलेको विश्वकप लिग-२ को यात्रामा कति खेल कोभिड-१९ को मारमा परे भने कति खेल बर्षाका कारण अबरुद्ध भए । कति खेल रोमान्चक बराबरी समेत भए ।
लिग टु सकिन दुईवटा खेल अगावै बाँकी छँदै च्याम्पियन बनेको स्कटल्याण्डले ३६ खेलबाट ५० अंक बनायो । दोस्रो स्थानमा रहेको ओमानले ३६ खेलबाट ४४ अंक बनायो ।
नामिबियालाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको नेपालले ३६ खेलबाट ४० अंक बनायो । यता, चौथो बनेको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । पाँचौं स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक हुँदा छैटौं स्थानमा रहेको यूएईको ३६ खेलबाट ३३ अंक छ । सातौं स्थानमा रहेको पपुवा न्युगिनीको ३६ खेलबाट ११ अंक छ ।
लिग-२ बाट स्कटल्याण्ड, ओमान र नेपाल विश्वकप छनोटमा सिधै प्रवेश गरेका छन् । यता, अमेरिका, नामिबिया, युएई र पपुवा न्युगिनी भने विश्वकप छनोटको प्लेअफमा झरेका छन् ।
प्ले अफमा खेल्ने ६ वटै टिमको टुंगो लागिसकेको छ । प्लेफमा क्यानाडा, जर्सी, अमेरिका, नामिबिया, यूएई र पपुवा न्युगिनी छन् । नामिबियामा यही मार्च २६ देखि सुरू हुने प्ले अफका विजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउने छन् ।
विश्वकप छनोटमा सहभागी हुने टिम
विश्वकप छनोटमा खेल्ने १० टिममध्ये पाँच टिमको टुंगो लागिसकेको छ । अब पाँच टिमको टुंगो लाग्न बाँकी छ । जसमध्ये लिग टुबाट नेपाल, स्कटल्यान्ड, ओमान र सुपर लिगबाट जिम्बाब्वे र नेदरल्यान्ड्स गरी पाँच टिमले विश्वकप छनोट प्रतियोगिता खेल्ने पक्का भएको हो ।
अब प्ले अफका दुई टिम र सुपर लिगका तीन गरी पाँच टिमको टुंगो लाग्न बाँकी छ । सुपर लिगबाट वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्ड गरी चार टिममध्ये तीन टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।
भारतमा हुने विश्वकपमा लागि आयोजकसहित अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र बंगलादेश छनोट भइसकेका छन् । अब वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डमध्ये एक टिमले विश्वकपमा स्थान बनाउने छन् । २०२३ को अक्टोबरबाट भारतमा सुरू हुने विश्वकप क्रिकेटमा १० टिमको सहभागिता रहनेछ । जहाँ विश्वकप छनोटको शीर्ष दुई टिमले एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।



