शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

एक्सप्रेस पाना
चैत्र ६, २०७९ सोमबार
  • 241
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन गरेको करिब दुई महिनामै दोस्रो पटक आज विश्वासको मत लिदै छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराहन्न १ बजे संसदको बैठक बस्दै छ ।

    images

    संबिधानको धारा १०० को उपधारा २ को व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संबिधानको धारा १०० को उपधारा २ मा भनिएको छ-  'प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।'

    तत्कालिन गठबन्धनको प्रमुख दल नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

    images

    अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादी केन्द्रका मात्र मन्त्री रहेका छन् भने अब नयाँ १० दलीय गठबन्धनले सरकार बनाउने निश्चित भएको छ । प्रधानमन्त्री प्रचण्डलाई नेकपा माओवादी केन्द्रसहित, नेपाली काँग्रेस, एकीकृत समाजवादी, लोसपा र जसपाले विश्वासको मत दिने भएका छन् ।

    त्यस्तै गठबन्धनमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    प्रतिनिधिसभामा नेपाली काँग्रेसका ८९ सांसद छन् भने नेकपा एमालेका ७९ सांसद रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका ३२ सांसद रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सांसद छन् भने राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका १-१ सांसद छन् । त्यस्तै स्वतन्त्र सांसद ४ जना रहेका छन् ।

    अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत सजिलै पाउने देखिएको छ । संसदको ठुलो दल काँग्रेससहितका १० दलले पनि विश्वासको मत दिने निर्णय शनिबार नै गरिसकेकाले सरकारले विश्वासको मत पाउने देखिएको हो । आइतबारको संसद बैठकमा काँग्रेस, एकीकृत समाजवादी सत्ता पक्षको बेन्चमा बसेकाले अब संसदको समीकरण बदलिएको स्पष्ट भएको छ ।

    संसदमा अहिले १० दलको १४६ सिट रहेको छ भने यसमा रास्वपाका १९ मत थपिदा १६५ मत हुने हुनाले बहुमतका लागि आवश्यक १३८ को संख्या सजिलै पुग्ने देखिन्छ । 

    आइतबार संसद बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सबै सांसदबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् आफूले शतप्रतिशत सांसदबाट विश्वासको मत पाउने उनले बताए । 

    यसअघि ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार शतप्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन् ।   

  • सम्बन्धित विषय:

  • # प्रचण्ड