एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल आज राति रोमाञ्चक खेलहरु हुदैछ । आज राति कुल ८ खेल हुदैछ । जसमा १६ टोली प्रतिस्पर्धामा रहेका छन् ।
त्यस्तै आजको खेलमा सबै नजर म्यान्चेस्टर युनाइटेड र न्युक्यासलको खेलमा हुनेछ । जसमा पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले युनाइटेडबाट दोस्रो पटक डेब्यु गर्न सम्भावना रहेको छ । उक्त खेल राति ७:४५ बजे युनाइटेडको घरेलु मैदानमा हुनेछ ।
युनाइटेडका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरले शनिबार घरेलु मैदानमा हुने खेलमा ३६ वर्षिया फरवार्डलाई न्युक्यासलविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् । जारी सिजन युनाइटेड ३ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
‘रोनाल्डोले यो साता हामीसँग निकै राम्रो समय बिताएका छन् ।’ सोल्सायरले पत्रकार सम्मेलनमा भने, ‘उनी पक्कै पनि मैदानमा केही बेर रहनेछन् । यो निश्चित छ ।’
सोल्सायरले रोनाल्डोले ४० वर्षको उमेरसम्म उच्च स्तरको फुटबल खेल्न सक्ने समेत बताएका छन् । रोनाल्डोले युभेन्ट्सबाट यो सिजन सिरी ‘ए’ मा एक खेल खेलेका थिए । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । उनले युनाइटेडसँग २० मिलियन पाउन्डमा २ वर्षको सम्झौता गरेका छन् ।
त्यसअघि रोनाल्डोले सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडमा २९२ खेलमा ११८ गोल गरेका थिए । त्यसपछि उनी स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिड पुगेका थिए । रियलमा करिब ९ बर्षको बसाइँ अन्त्य गर्दै सन् २०१८ उनी इटालियन सिरी फुटबल क्लब युभेन्टस पुगेका थिए ।
प्रिमियर लिगमा आज हुने खेलहरु नेपाली समयअनुसार
- किस्टल प्यालेस भर्सेस टोटनहम (५:१५)
- साउथ ह्याटन भर्सेस वेस्ट ह्याम (७:४५)
- आर्सनल भर्सेस नर्वेच सिटी (७:४५)
- बोर्टाफोट भर्सेस ब्राइटन (७:४५)
-लेष्टर सिटी भर्सेस म्यान्चेस्टर सिटी (७:४५)
- वाडफोड भर्सेस वुल्भ्स (७:४५)
-चेल्सी भर्सेस एस्टन भिल्ला (१०:१५)


