काठमाडौं । जावलाखेल युथ क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार विराटनगरको शहीद रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्दै जवालाखेलले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
पेनाल्टी सुटआउटमा पनि दुवै टिमबाट ५–५ गोल भएपछि खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा आर्मीका शेषेहाङ आङदम्बेले प्रहार पोष्टबाट बाहिरिएको थियो भने जावलाखेलका लागि विशाल तामाङले गोल गर्दै खेल जिताएका थिए ।
आगामी १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्छ भने उप विजेताले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।



