काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिल मोरक्कोसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा मोरक्कोले ब्राजिललाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्कोले ब्राजिलमाथि पहिलो पटक जित हात पारेको हो ।
पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्न मोरक्कोका लागि सोफियान बौफाल र अब्देलहमिद साबिरीले एक/एक गोल गरे । ब्राजिलका लागि कासेमिरोले एक गोल फर्काए ।
२९औँ मिनेटमा गोल गर्दै सोफियानले मोरक्कोलाई सुरुवाती अग्रता दिलाए पनि कासेमिरोले ६७औँ मिनेटमा ब्राजिलका लागि बराबरी गोल गरे ।
तर साबिरीले ७९ औँ मिनेटमा गोल गर्दै मोरक्कोलाई २-१ गोलको जित दिलाए ।



