काठमाडौं । युरो कप २०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६-० ले पराजित गरेको छ ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल, बर्नार्डो सिल्भा, जोओ फेलिक्स, ओटाभियो र राफेल लियोले समान ११ गोल गरे । कतार विश्वकपपछि पोर्चुगलको यो लगातार दोस्रो जित हो । यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई ४-० ले हराएको थियो ।
रोनाल्डोले खेलको नवौँ मिनेटमा गरेको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो भने १५औँ मिनेटमा जोओ फेलिक्सले पोर्चुगलको अग्रतालाई दोब्बर बनाइदिए ।
पोर्चुगलको गोलको वर्षा गर्ने क्रम रोकिएन, पुनः १८औँ मिनेटमा बर्नार्डो सिल्भाले तेस्रो गोल गरे भने ३१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेर पहिलो हाफमा नै खेल ४-० को स्थितिमा पुग्यो ।
दोस्रो हाफको ७७औँ मिनेटमा ओटाभियोले थप गोल गरे भने त्यसको १० मिनेट पछि अर्थात् ८९औँ मिनेटमा राफेल लियोले अर्को गोल थपेर अन्ततः खेल ६-० को अवस्थामा रहन पुग्यो ।
उक्त जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’ मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलले ६ अंक जोडेको छ भने एक अंक जोडेको लक्जमबर्ग पाँचौँ स्थानमा रहेको छ



