एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्याम हट्स्पर र एभर्टनले अंक बाँडेका छन् ।
मंगलबार विहान सकिएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलमा टोटनह्यामले सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा जोगाउन नसक्दा अंक बाँड्न बाध्य बन्यो ।
उक्त खेलमा दुवै टिमका एक एक जना खेलाडी रातो कार्ड पाउँदै १० खेलाडीमा सिमित भएका थिए ।
५८औं मिनेटमा अब्दुल्ला डकुरेले हेरिकेनमाथि फल गरेपछि रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
त्यसपछि एभर्टन १० खेलाडीमा झरेको थियो । ६८ औं मिनेटमा हेरिकेनमाथि डी बक्समा फल गर्दा पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरेका थिए ।
८८औं मिनेटमा लुकास मोउराले रातो कार्ड पाएपछि टोटनह्याम पनि १० खेलाडीमा सिमित भयो । ९०औं मिनेटमा एभर्टनका लागि मिचेल कियनले गोल गर्दै बराबरी गर्न सफल भए ।
उक्त बराबरीसँगै टोटनह्याम अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । २९ खेलबाट ५० अंक बनाएको हो । तेस्रो स्थानमा रेको न्युक्यासल युनाइटेड र पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको पनि समान ५० अंक नै रहेको छ ।
एभर्टन भने २७ अंकका साथ १५ औं स्थानमा छ ।



