काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज सातौं चरणको अन्तिम ३ खेल हुँदै ।
आज हुने तीन खेल मध्य २ खेल अपराहन्न २ बजेदेखि शुरु हुदै छन् भने तेस्रो खेल साँझ ५:४५ देखि हुने छ ।
आज एन्फा मुख्यालय सातदोबाटोमा २ बजेबाट सुरु हुने खेलमा फ्रेन्ड्स क्बलले नेपाल पुलिस क्बलको सामना गर्नेछ । जारी सिजनको कुनै पनि खेलमा जित निकाल्न नसकेको पुलिस आजको खेलमा जित निकाल्ने दाउँमा रहेको छ । पुलिसले ६ खेलबाट १ अंक जोडेको छ ।
यस्तै जारी सिजन एक जित एक बराबरीसहित ४ अंक जोडेको फ्रेन्ड्स पनि दोस्रो जितको खोजिमा हुनेछ ।
सोहि समयमा दशरथ रंगशालामा हुने अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले एपीएफ फुटबल क्बलको सामना गर्नेछ । जारी सिजन ६ खेलमा १२ अंक बनाएको चर्च चौथो स्थानमा रहेको छ भने समान खेलबाट १० अंक बनाएको एपीएफ पाँचौं स्थानमा रहेको छ ।
यस्तै आज साँझ ५:४५ बजेबाट सुरु हुने खेलमा मनाङ मर्स्याङदी फुटबल क्लबले थ्री स्टारको सामना गर्नेछ । किरण श्रेष्ठको प्रशिक्षणमा रहेको मनाङ जारी सिजन ६ खेलमा १४ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ । मेगराज केसीको प्रशिक्षणमा रहेको थ्री स्टार समान खेलबाट १० अंकसहित छैटौं स्थानमा रहेको छ ।
अजको खेलमा थ्री स्टारलाई हराउँदै तीन अंकका साथ मनाङ शीर्ष स्थानमा आफ्नो बलियो पकड जमाउन चहान्छ । भने यता थ्री स्टार पनि जित निकाल्दै तीन अंक जोड्ने योजनामा रहेको छ ।



