राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सातौं चराणको खेलमा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।
सोमबार एन्फा मुख्यालय सातदोबाटोमा भएको खेलमा पुलिसले फ्रेन्ड्स क्बललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे भने विदेशी खेलाडी मोजेजले एक गोल थपे । यता फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए ।
उक्त चारै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५१औं मिनेटमा मोजेजले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
५८औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाए ।
खेलको ८७औं मिनेटमा टोरिकले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ९०औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाए ।
उक्त जितसँगै पुलिस ७ खेलबाट ४ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ भने पराजित फ्रेन्ड्स पूछारमा झरेको छ ।



