काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले रोमान्चक बराबरी खेलेका छन् ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सातौं चरणको अन्तिम खेलमा मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।
रोमाञ्चक खेलमा सुरुवाती अग्रता थ्री स्टारले बनाएको थियो । खेलको ७८औं मिनेटमा थ्री स्टारको लागि सन्तोष शाहुखलले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । लाकेन लिम्बुको हेड पासमा पेनाल्टी क्षेत्रभित्र रहेका सन्तोषले उत्कृष्ट गोल गरे ।
झण्डै सात वर्षपछि थ्री स्टार फर्किएका सन्तोषले पहिलो खेलमै गोल गरेका हुन् । उनी लिगका लागि जापानबाट नेपाल आएका हुन् ।
त्यस्तै खेलको ८४औं मिनेटमा मनाङका लागि कोफी टिमोथी कुडोले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याए । उनले विशन गुरुङको लामो पासमा हेडमार्फत गोल गरे ।
उक्त बराबरीसँगै मनाङले जारी सिजन ७ खेलमा १५ अंक जोडेको छ । मनाङ शीर्ष स्थानमा रहेको छ । यता समान खेलबाट थ्री स्टारले ११ अंक जोडेको छ ।



