काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र क्लबले खुमलटार क्लबमाथि फराकिलो जित निकालेको छ ।
मंगलबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्र क्लबले खुमलटार क्लबलाई ७-३ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा अफीज ओलावालेले ५ गोल गरेका थिए भने बिमल घर्ति मगर र विजय भुजेलले एक एक गोल गरेका थिए ।
त्यस्तै खुमलटारका लागि मेसोउके ओलोउमोउले दुई र स्टेफन समिरले एक गोल गरेका थिए ।
पहिलो हाफमा ३-० को अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा थप ४ गोल गर्दा ३ गोल ब्यहोरेको थियो ।
उक्त जितसँगै मछिन्द्रले लिगमा तेस्रो जित निकालेको छ । मछिन्द्रको ८ खेलमा १२ अंक भएको छ र लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
त्यस्तै खुमलटारको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ । यस्तै आजै भएको अर्को खेलमा आर्मीले जावलाखेललाई ३१ गोल अन्तरले पराजित गरेको छ ।



