काठमाडौं । राजधानीमा जारी यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले जित निकालेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३-१ गोल अन्तरले हराएको हो ।
एनआरटीको जितमा सरोज तामाङ, सन्जिब विष्ट र मोहित गुरुङले एक एक गोल गरे । यता खुमलटारका लागि श्यामु मुर्मुले एक सान्त्वना गोल फर्काए ।
गोलरहि बराबरीमा सकिएको खेलको ६५औं मिनेटमा सरोजले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ८२औं मिनेटमा सन्जिबले गोल गर्दै एनआरटीको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८५औं मिनेटमा मोहितले गोल गर्दै एनआरटीलाई ३-० को अग्रता दिलाए ।
तर खेलको ९० औं मिनेटमा श्यामु मुर्मुले गोल गरेपनि एनआरटी ३-१ ले विजयी भयो ।
एनआरटीको यो दोस्रो जित हो । एनआरटीले १० खेलबाट १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । यता खुमलटारको यो छैटौं हार हो । खुमलटार १० अंक जोडेर ११ औं स्थानमा झरेको छ ।



