काठमाडौँ । रोमाञ्चक जितसहित इटालियन इटालियस सिरी ए फुटबल क्बल एएस रोमा र युभेन्टु युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहिवार राति भएको क्वाटरफाइनलको दोस्रो लिगमा फेयनोर्डलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित रोमा सेमिफाइनलमा पुगेको हो ।
रोमाको जितमा लियोनार्दो स्पिनाजोला, पाउलो डिबाला, स्टेफेन शेरावी र लोरेन्जो पेल्लेग्रिनीले एक एक गोल गरेका थिए ।
त्यस्तै फेयनोर्डका लागि एक गोल इगोर गिमेनेजले गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा रोम २-१ अगाडी भएपछि समग्र नतिजा २-२ को बराबरी भएपछि खेल अर्को ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा रोमाले थप २ गोल गर्यो र सेमिफाइनलको यात्रा सुनिस्चित गरेको थियो ।
अब जोसे मोरिन्हो नेतृत्वको रोमाले सेमिफाइनलमा बायर लिभरकुसनको सामना गर्ने छ ।
यस्तै युभेन्टसले क्वाटरफाइनलको दोस्रो लिगमा स्पोर्टिंग सिपीसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ गोल अन्तरको नतिजासहित सेमिफाइनलमा पुगेको हो ।
युभेन्टसका लागि एड्रीयन रबिओटले गोल गरेका थिए भने स्पोर्टिंगका लागि मार्कस एडवार्डसले एक गोल गरेका थिए ।
यसअघि सम्पन्न क्वाटरफाइनलको पहिलो लिगमा युभेन्टस १-० गोल अन्तरले विजयी भएको थियो ।
अब सेमिफाइनलमा युभेन्टसले सेभियाको सामना गर्ने छ । सेभियाले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।



