काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १७औं राउन्डको खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्बल र थ्री स्टार क्बल पराजित भएको छ ।
शनिबार च्यासल मैदानमा सम्पन्न खेलमा मछिन्द्रले थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा खेलको नवौं मिनेटमा युटा सुजुकीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
उक्त जितसँगै मछिन्द्रको १७ खेलमा २७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी थ्री स्टार क्लबको भने १७ खेलमा २५ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।
यस्तै आजै दशरथ रंगशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४४औं मिनेटमा आर्मीका जिलेस्पी जंग कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
उक्त जितसँगै आर्मीले चर्च ब्वाइजलाई शिर्ष स्थानमा उक्लिनबाट रोकेको छ । आर्मी जारी लिगको पाँचौ स्थानमा उक्लिएको छ । आर्मीको १७ खेलमा २४ अंक भएको छ । त्यसैगरी चर्च ब्वाइजको १७ खेलमा ३० अंकसहित दोस्रो स्थानमा रहेको छ ।



