एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराउँदै आयोजक राष्ट्र नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
नेपालले पहिलो सेट बङ्गलादेशलाई २५–१० ले पराजित गरेको थियो भने खेलको दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–९ ले विजयी भयो ।
समूह ‘ए’ को नेपालले ६ अङ्क जोडेको छ । समान ६ अङ्क नै जोडएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । समान दुई खेलमा जितविहीन बङ्गलादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो ।
अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।



