काठमाडौं । काजकस्तानसँग पराजित नेपाल राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएको छ ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न दोस्रो सेमिफाइनलमा काजकस्तानले नेपाललाई ३-२ सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
काजकस्तानले नेपाललाई ३०-२८, १६-२५, १५-२५, २५-१७ र १५-७ को सेटमा पराजित गरेको थियो ।
अब फाइनलमा काजकस्तानले भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा उज्वेकस्तानलाई सोझो सेटमा ३-० ले पराजित गर्दै फाइनलमा पुगेको हो । भारतले उज्वेकस्तानलाई २५-१७, २५-२० र २५-१५ को सोझो सेटमा पराजित गरेको थियो ।
फाइनल आइतबार हुने छ । त्यस्तै नेपालले आइतबार नै तेस्रो स्थानका लागि उज्वेकस्तानसँग खेल्ने छ ।



